(१) देहायका पदाधिकारीहरू भएको सैनिक अस्पताल सञ्चालक समिति गठन गरिएको छः–
(क) कार्यरथी – अध्यक्ष
(ख) निर्देशक, सैनिक स्वास्थ्य सेवा – सदस्य
(ग) प्रमुख स्थपती, प्रबन्ध रथी विभाग – सदस्य
(घ) कमाण्डिङ्ग अफिसर (सी. ओ.) सैनिक अस्पताल -सदस्य
(ङ) महासेनानी, बलाधिकृत विभाग -सदस्य
(च) महा सेनानी, संभार रथी विभाग -सदस्य
(छ) प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालय -सदस्य
(ज) प्रतिनिधि, रक्षा मन्त्रालय -सदस्य
(झ) रजिष्ट्रार, सैनिक अस्पताल सदस्य–सचिव
(२) समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) सैनिक अस्पतालमा हुनु पर्ने सबै काम सुचारु रुपले चलाउने आवश्यक व्यवस्था गर्ने,
(ख) सैनिक अस्पताललाई एक आधुनिक र सुसज्जित अस्पतालमा परिणत गर्ने योजना बनाई स्वीकृतिको लागि नेपालसरकारमा पेश गर्ने र नेपाल सरकारबाट स्वीकृति भए बमोजिम तत्परता र कार्य कुशलतासाथ योजनालाई कार्यान्वित गर्ने,
(ग) प्रत्येक वर्ष आषाढ मसान्त भन्दा अगावै सैनिक अस्पतालको वार्षिक बजेट तयार पारी आवश्यक निकासा निमित्त नेपालसरकारमा पेश गर्नु पर्ने र स्वीकृत बजेट अनुसार अस्पतालको कोषबाट काममा खर्च गर्ने,
(घ) आवश्यक परेमा समितिले कुनै एउटा रकम अन्तर्गत स्वीकृति भएको शीर्षक तलब बाहेकबाट अर्को शीर्षकमा रकमान्तर गरी खर्च निकासा दिने,
(ङ) समितिले गरेको मुख्य मुख्य कामको मासिक प्रतिवेदन प्रधान सेनापति मार्फत नेपालसरकारमा पेश गर्ने ।